काठमाडौं, जेठ १०
प्रेस काउन्सिल नेपालको नेतृत्व गर्ने ब्यक्ति नै सम्पादक रहेको पत्रिकामा काल्पनिक कथा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) बिज्ञ अस्गर अलीबिरुद्ध चरित्र हत्याको समामार प्रकाशन भएको तथ्य खुलेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज बिज्ञप्ती जारी सो तथ्य बाहिर ल्याउनु भएको हो ।
अर्यालका अनुसार आज प्रकाशित जनआस्था साप्ताहिकले बिदेसी अपराधी छुटाउन प्रहरी परिसर पुगेको भन्दै अलीबिरुद्ध काल्पनिक कथा बनाएर चरित्र हत्या गरेको छ । सो पत्रिकाका सम्पादक प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठ सम्पादक रहेको पत्रिकामा अलीबिरुद्ध हुँदै नभएको कथा बुनेर चरित्र हत्या गरिएको अर्यालको बिज्ञप्तीमा उल्लेछख छ ।
आज प्रकाशित जनआस्था साप्ताहिकमा ‘विदेशबाट अपराधीहरुको बाढी’ शीर्षकमा प्रकाशित समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रुपमा मुछदै अन्तर्राष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै काल्पनिक कथा खडा गरिएको छ । अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको भन्दै अर्यालले आपत्ति जनाउनु भएको छ ।
‘त्यहाँको सीसी टिभीमा कैद भएको अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ,’ अर्यालले बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लेखित विषयमा प्रहरी परिसर टेकूका डीएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको वताउनु भयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्नेगरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न जनआस्था साप्ताहिकलाई हामी चुनौति दिन्छौं ।’
अन्तर्राष्ट्रिय अपराधी छुटाउन लागेको झुठो सूचना प्रसार गरी व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरुको आचार संहिता अनुरुप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयास समेत नगरिएको पाइएको छ ।
‘अलीले अभियुक्तलाई भेटेको हो/होइन भन्ने विषयमा प्रहरी परिसरमा मुद्दा हेर्ने डीएसपी सन्तोष तामाङको आधिकारिक भनाई पनि कथित समाचामा उद्धृत गरिएको छैन । धार्मिक आपराधिक समुहसँगको सम्पर्क रहेको अर्थ लाग्नेगरी सम्प्रेषण गरिएको झुठो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुनसक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लंघन हो,’ अर्यालको बिज्ञप्तीमा भनिएको छ ।
व्यक्तिको चरित्रहत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने गरी नियोजित रुपमा गरिएको दुष्प्रचारप्रति प्रधानमन्त्रीको सचिवालय खेद व्यक्त गरेको छ । साथै काल्पनिक कथ्यको भ्रममा नपर्न आम पाठकहरुमा अनुरोध गरेको छ ।
यस्तो छ डा अर्यालको बिज्ञप्ती
जेठ ८ गते बुधवार जनआस्था साप्ताहिकमा ‘विदेशबाट अपराधीहरुको बाढी’ शीर्षकमा प्रकाशित समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रुपमा मुछिएकोप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा अन्तर्राष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै काल्पनिक कथा खडा गरी जनआस्था साप्ताहिकले भ्रम सिर्जना गरेको छ । अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ । उक्त कुरा त्यहाँको सीसी टिभीमा कैद भएको अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लेखित विषयमा प्रहरी परिसर टेकूका डीएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको वताउनु भयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्नेगरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न जनआस्था साप्ताहिकलाई हामी चुनौति दिन्छौ । अन्तर्राष्ट्रिय अपराधी छुटाउन लागेको झुठो सूचना प्रसार गरी व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरुको आचार संहिता अनुरुप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयास समेत गरिएको छैन ।
अलीले अभियुक्तलाई भेटेको हो/होइन भन्ने विषयमा प्रहरी परिसरमा मुद्दा हेर्ने डीएसपी सन्तोष तामाङको आधिकारिक भनाई पनि कथित समाचामा उद्धृत गरिएको छैन । धार्मिक आपराधिक समुहसँगको सम्पर्क रहेको अर्थ लाग्नेगरी सम्प्रेषण गरिएको झुठो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुनसक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लंघन हो ।
व्यक्तिको चरित्रहत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने गरी नियोजित रुपमा गरिएको दुष्प्रचारप्रति प्रधानमन्त्रीको सचिवालय खेद व्यक्त गर्दछ । समाचारमा उल्लेखित काल्पनिक कथ्यको भ्रममा नपर्न आम पाठकहरुमा अनुरोध समेत गर्दछौं ।
१० जेठ,२०७६
डा.कुन्दन अर्याल
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार
प्रतिक्रिया दिनुहोस्