जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १५:४२

नक्कली अख्तियार गठन गरी ५ करोड ठग्न खोज्ने ज्योतिष अर्जुन क्षेत्री सक्कली अख्तियारको फन्दामा


काठमाडौं, असार २६

निक्कै विवादित बनेका ज्योतिष भनेर चिनिने अर्जुन कुमार थापाक्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । एक जग्गा व्यवसायीसँग पाँच करोड रुपैयाँ असुल्ने फिराकमा रहेका उनि अख्तियारको फन्दामा परेका हुन् ।

उनले रकम असलु गर्न अपनाएको तरिका पनि गज्जबको छ । ९ जनाको टोली बनेर उनले नक्कली अख्तियार नै गठन गरेर जग्गाधनीसँग रकम माग गरेका हुन् । काठमाडौंको बुढानिलकण्ठ–२ चपलीहाइटमा प्लटिङको एउटा जग्गा रहेको छ । उक्त प्लटिङमा सरकारी जग्गा पनि परेको हल्ला एक महिनाअघि चल्यो । हल्लासँगसगै जग्गाबारे अख्तियारमा पनि उजुरी परेको हल्ला फैलियो ।

यो हल्ला आफूलाई ज्योतिष भन्ने क्षेत्रीले पनि सुनेका रहेका छन् । त्यसपछि उनले सो जग्गाबाट रकम हत्याउने योजना बनाएका रहेछन् । कपन क्षेत्रमा बस्ने उनको समूहमा अरू मानिसहरू पनि थिए । आयोग स्रोतका अनुसार अर्जुनको ९ जनाको टोलीले आफैं सिंगो अख्तियार नै खडा गर्‍यो । त्यसपछि जग्गाधनीलाई पटक पटक मिसकल गर्न थाले ।

फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ भनेर भने । त्यसपछि उनिहरुले अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने र फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम असुल्ने तयारी गरिरहेका थिए । सोही क्रममा सक्कली अख्तियारमा उजुरी पर्यो ।

अख्तियारमा उजुरी गर्नुपूर्व उनिहरुले जग्गाधनीलाई एक जनालाई सहसचिव भनेर चिनाए । सहसचिव बनेका व्यक्ति सरकारी ड्रेस कोडअनुसारकै लुगा लगाएर हिँड्थे । जग्गा मालिकले मुद्दा मिलाउन के गर्नुपर्छ भनेर उनिसँग सोधपुछ गरे । ति नक्कली अख्तियारका सहसचिवले हामीलाई पाँच करोड दिए अनुसन्धान रोकिदिन्छौं भने ।

तर जग्गाका मालिकले सहसचिवसँग मात्र कुरा गरेर नहुने अख्तियार प्रमुखसँगै कुरा गर्ने अडान लिए । क्षेत्रीको ग्रुप पनि के कम उनिहरुमध्ये एक जना अख्तियार प्रमुख नै बने । अख्तियार प्रमुख भए मोबाइलबाट जग्गा मालिकसँग कुरा गर्न लगाए ।

जग्गा मालिकले पनि त्यति ठूलो पैसा दिन नसक्ने बताए । बार्गेनिङ चल्यो । अर्जुनको समूह ५० लाख दिए कुरा मिलाउनेमा सहमत भयो । जग्गा मालिक पनि त्यति सोझा थिएनन् । त्यतिञ्जेल उनीहरूको यस्तो हर्कतबारे उनले आयोग कार्यालयमा उजुरी र सूचना दिइसकेका थिए ।

बिहीबार राति उनले पैसा बुझाउने भने । अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन गयो । ५० लाख आउने भयो भनेर मख्ख परेका अर्जुन पैसा लिन खोज्दा पक्राउ परे । उनीसँग कुरा गर्दा थाहा भयो– ठगीमा अरू पनि छन् ।

गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरूङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई २५ गते पक्राउ गर्न सफल भयो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ ।