काठमाडौं, असार २६
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार जनाको कोभिड–१९ को पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना संकलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को संक्रमण छ छैन भनी पत्ता लगाउनका लागि नमूना संकलन गर्न थालिएको जानकारी दिनुभयो ।
महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना संकलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना संकलन गरिने बताउनुभयो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ ।
यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना संकलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना संकलन गरिसक्ने बताउनुभयो । महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना संकलन गरेको थियो ।
आज ललितपुरको भैँसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना संकलन गरेको छ । दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना संकलन गरिने प्रशासक अधिकारी जानकारी दिनुभयो । केही दिनयता उपत्यकामा कोभिड–१९ का संक्रमित भेटिएपछि जोखिम बढेको छ । यस्तै मुलुकबाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले नमूना संकलन गर्नेछ ।
सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना संकलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्