जनता टाइम्स

२८ असार २०७७, आईतवार १५:३४

कार्यकर्तालाई प्रचण्डको निर्देशन : पार्टी विभाजन हुन दिइने छैन, अहिले यता–उता लागेर पछि पछुताउन नपरोस (भिडियोसहित)


चितवन, असार २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वा आफूतिर लागेर उचाल्ने र पार्टीलाई बिभाजनतिर लैजाने गतिबिधि नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा चितवनका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कडा निर्देशन दिनुभएको हो ।
‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’ प्रचण्डले भन्नुभयो ।

उहाँले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था आउन नदिने अठोट पनि गर्नुभयो । ‘मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहोर्याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता लागेर पछि पछुताउने दिन नआवस,’ प्रचण्डले भन्नुभयो ।

हेर्नाेस भिडियो