काठमाडौं, असार २८ । सरकारले भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने प्रष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।
मिडिया सोसाइटी, एकोर्याव र बानका प्रतिनिधिमण्डलसँग मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने प्रष्ट पार्नुभयो । मन्त्री खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएका अर्थ मन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताउनुभएको हो ।
नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढङ्गले जान नसुहाउने भए पनि भारतीय न्युज च्यानल दुराशायपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उहाँको भनाई छ । ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौं । उनीहरु नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेको भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्न मिडियाले सुहाउँदैन,’ मन्त्री खतिवडाले भन्नुभयो, ‘भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’
नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन र प्रसारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न आपत्तिजनक सामग्री प्रकाशन/प्रसारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गरिएको छ । नेपालमा बन्द गरेसँगै भारतीय मिडियामा खैलावैला मच्चिएको छ । भारतीय मिडियाको आपत्तिजनक कदम तत्काल रोक्न नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोट पठाइसकेको छ ।
सो अवसरमा प्रतिनिधिमण्डलले बजेटमा ब्यवस्था भएअनुसार नविकरणको ब्यवस्था गर्न भन्दै मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएको थियो । मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, एकोर्यावका अध्यक्ष सुवास खतिवडा र बानका अध्यक्ष चन्द्र न्यौपानेले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा तत्कालै आफूहरुको माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्