जनता टाइम्स

२९ असार २०७७, सोमबार १४:५७

१४ जिल्लाका ११ हजार घर पहिरोको उच्च जोखिममा : ७०४ परिवारलाई तत्काल सार्नुपर्ने (सूचीसहित)


काठमाडौं, असार २९ । सरकारले पहिरोको जोखिममा रहेका ७ सय ४ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस्तो जानकारी दिनुभएको हो ।

पोखरेलका अनुसार मुलुकमा मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ । ‘१४ जिल्लाका ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा छन । तीमध्ये ७ सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जरुरी छ,’ पोखरेलले भन्नुभयो । उहाँका अनुसार पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोक, गोरखा र रसुवा रहेको छ । जोखिममा रहेका कतिपय परिवार र गाउँले थातथलो छोड्न नमान्दा समस्या उत्पन्न भएको पनि उहाँको भनाई छ । ‘हामी जोखिममा छैनौं भनेर अर्को ठाउँमा जान मान्नुहुन्न, यो पनि ठूलै समस्याको रुपमा देखिएको छ,’ पोखरेलले भन्नुभयो ।

त्यस्तै, सीमामा भारतले निर्माण गरेको तटबन्धका कारण बाढीको उच्च जोखिममा प्रदेश २ रहेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा पनि रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा रहेको छ । बाढी र पहिरोमा परेर सोमबार बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मनसुन सुरु भएको पहिलो ३० दिनमा उच्च जोखिम हुँदै गरेको सरकारी अध्ययनले देखाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार पछिल्लो १० वर्षको अध्ययन गर्दा मनसुन सुरु भएको पहिलो ३० दिनमा यस बर्ष ठूलो क्षति भएको छ । यसवर्ष पनि मनसुन भन्दा पहिले नै उच्च वर्षा भएकाले नै जनधनको ठूलो क्षति भएको हो । हरेक दिन बाढी र पहिरोमा परी जनधनको क्षती भइरहेको बेला सरकारले यस्तो बताएको हो ।