जनता टाइम्स

३० असार २०७७, मंगलवार १३:०१

बैंकको ब्याज–किस्ता तिर्न महासंघको आग्रह


काठमाडौं, असार ३०

नेपाल उद्योग वाणिज्य महासंघले एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने उद्योगी–व्यवसायीहरुलाई ऋणको साँवा तथा ब्याज समयमै तिर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तिर्न आग्रह गरेको हो । तिर्नै नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने भएको छ । महासंघले बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा पनि नियमित छलफल गरेको जनाएको छ ।

‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन आग्रह गर्दछौं’ महासंघको सूचनामा भनिएको छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनःसंरचना र पुनरतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था हुन महासंघ सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।’