जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार ११:१७

दुई एकल महिलाले चढे सगरमाथा


सोलुखुम्बु, जेठ ११

आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्न सक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

निमा डोमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले पाँच वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए भने फुरदिकीका पति मिङ्मार शेर्पाको छ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो । हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गर्नुभएको थियो ।

एकल महिला सधैँ शोकमा बस्ने हैन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि आरोहण गरेको आरोही महिलाको भनाइ छ । वर्षेनी हिमाली क्षेत्रको पदयात्रमा गएका सयौं आरोही र उहाँका सहयोगीको मृत्यु हुने गरेको छ । आरोही महिलाले भने आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

आफन्त वियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर सङ्घर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका लागि सगरमाथा अरोहणमा गएको उहाँहरुको भनाइ छ । पतिसँगै जोक्पे लिएर धेरैपटक आधार शिविर पुगेका फरदिकी र निमाले पति गुमाएपछि पनि यो पेशालाई निरन्तरता दिँदै उचाईतर्फ लगेका हुन् । सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका पत्नीलाई सङ्गठित गर्दै संस्था खोल्नेसमेतको उहाँहरुको योजना छ ।