जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १२:३६

दुबई छोडेर मटन भुटन


चितवन, जेठ ११

विदेशमा ६ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्ने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुहुन्छ । भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट ६ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो । चोक बजारमै काकाले शुरुआत गरेको होटल उहाँले सम्हाल्नुभयो ।

होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भन्नुभयो, ‘पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।’ उहाँको होटलमा दैनिक स्थानीय जातको खसी काटेर भुटनका परिकार बनाइन्छन् । व्यापार बढ्दै गएपछि उहाँ उत्साहित हुँदै जानुभयो। बजार नजिकै एक कट्ठा जग्गा किनेर घर रेष्टुराँसँगै बनाउनुभयो। अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्नुहुन्छ ।

श्रीमती अम्बिका र एकजना कामदारले उहाँलाई सघाउँदै आएका छन् । उहाँले भन्नुभयो, ‘विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।’ दुई सन्तान छन्, अधिकारीका । छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउँछन् ।

एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उहाँको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् । आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भन्नुभयो, ‘लगन लगाएर काम गर्यो भने नेपालमै केही गर्न सकिन्छ ।’ नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उहाँले गर्नुभएको छ ।