जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १३:५०

स्वास्थ्य चौकी भवन समयअगावै पुनःनिर्माण सम्पन्न


पोखरा, साउन ९

कास्कीमा दुई वटा स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको कम्पनीले सम्झौता अवधिअगावै पुनःनिर्माण सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ। पोखरा महानगरपालिका-२६ स्थित राखी स्वास्थ्य चौकी र सोही महानगरपालिका-१९ स्थित लामाचौर स्वास्थ्य चौकीको भवन समयअगावै पुनःनिर्माण भएका हुन्।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीका आयोजना प्रमुख कुमार उमेश चौधरीले गत वर्षको असार २७ मा १५ महिने निर्माण अवधि राखी ठेक्का सम्झौता भएकोमा तीन महिना अगावै ती स्वास्थ्य चौकी निर्माण सम्पन्न भएर हस्तान्तरण भएको बताउनुभयो ।

न्यु ड्रागन–बि.जी. कन्ट्रक्सन ज्वाइन्ट भेन्चरले ती दुई भवन भ्याट बाहेक ३ करोड १९ लाख ४९ हजारमा निर्माण गरेको हो। निर्माण कम्पनीले लामाचौर स्वास्थ्य चौकी असार २६ गते हस्तान्तरण गरेको छ भने राखी स्वास्थ्य चौकी त्यसअघि असार १० गते हस्तान्तरण गरेको थियो।