जनता टाइम्स

११ श्रावण २०७७, आईतवार १४:४५

उत्तर कोरियामा कोरोना : आकस्मिक बैठक डाकी संकटकाल घोषणा


एजेन्सी,  साउन ११। उत्तर कोरियामा संकटकाल घोषणा भएको छ । पहिलो कोरोना भाइरसका संक्रमित पत्ता लागेपछि उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक बैठक डाकी संकटकाल घोषणा गरेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उत्तर कोरियाको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले आइतबार विहान कोरोना भाइरसको संक्रमित पत्ता लागेको पुष्टि गरेको थियो । केसीएनएको रिपोर्ट अनुसार कोरोना संक्रमित व्यक्ति उत्तर कोरियामा १९ जुलाईमा गैरकानुनी तरिकाले प्रवेश गरेका हुन् ।

उत्तर कोरियामा गैरकानुनी रुपमा प्रवेश गर्ने ती व्यक्तिबारे अनुसन्धान गरी कडा सजाय हुनसक्ने केसिएनले जनाएको छ ।

केसिएनले भनेको छ ‘केसङ शहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो। जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए।’बीबीसीका अनुसार शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपत्‌कालीन प्रणाली लागु गर्न आदेश दिएका थिए ।

उक्त समाचार संस्थाका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन्। जसमा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ।र त्यसमा जिम्मेवार व्यक्तिहरूलाई निकै कडा सजाय दिइने चेतावनी दिइएको छ। त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ।
विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो।