जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार ११:४८

मलेसियामा नेपाली कुटिएको विषयमा सरकारी एक्सनको रिएक्सन : मलेसियाको प्रहरीले खोज्न थाल्यो अभियुक्त


काठमाडौं, साउन १७

मलेसियामा एक जना नेपाली सुरक्षा गार्डलाई कुटेको भिडियोमा थप विवरणहरु सार्वजनिक भएका छन् । भिडियोमा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको त्यहाको प्रहरीले जानकारी दिएको छ ।

घटना सार्वजनिक भएपछि कारवाहीका लागि परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासलाई कारवाही अगाडी बढाउन निर्देशन दिएको थियो । त्यसलगत्तै मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ । अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको जानकारी दिनुभयो । अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेका हुन् ।

‘हामीलाई विश्वास छ कि पिट्ने मान्छे पाकिस्तानी नागरिक हो भने कुटाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भन्नुभयो । यद्यपी के विषयमा कुटपिट भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उहाले बताउनु भयो ।

कसैलाई यो घटनाको बारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभएको छ । घटनाको बारेमा जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।