जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ०८:४२

अबको तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी


काठमाडौं,  साउन १८ । रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ ।

अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो ।

उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ ।

यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ ।

कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।