जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १०:३३

उत्तर प्रदेशका ६ मन्त्रीमा कोरोना पुष्टि, एकको मृत्यु


काठमाडौं, साउन १९

उत्तर प्रदेश सरकारका क्याबिनेट मन्त्री कमल रानी वरुणको हिजो कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो। अब त्यहाँका अन्य मन्त्रीको परीक्षण रिपोर्ट पनि धमाधम पोजिटिभ आउन थालेको छ।

अहिलेसम्म उत्तर प्रदेशका ६ मन्त्री संक्रमित भइसकेका छन्। तीमध्ये एक जनाको मृत्युु भएको छ। मृत्यु हुने कमल रानी त्यहाँको प्राविधिक शिक्षा मन्त्री थिइन्।

मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटका जलशक्ति मन्त्री महेन्द्र सिंहको हिजो आएको जाँच रिपोर्ट पनि पोजिटिभ छ। त्यसअघि उत्तर प्रदेशका स्वास्थ्य मन्त्री जयप्रताप सिंह पनि संक्रमित भएका थिए। त्यस्तै योगी मन्त्रीमन्डलका अन्य मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरमसिंह सैनी पनि संक्रमित थिए।

उत्तर प्रदेशकै बीजेपी प्रमुख स्वतन्त्रदेव सिंहले पनि ट्विट गरेर आफू संक्रमित भएको जनाएका छन्। त्यस्तै हिजै राति साढे ८ बजे ट्विट गरेर कर्नाटकमा बीजेपी सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पाले पनि आफू संक्रमित भएको उल्लेख गरेका छन्।

उता तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहितलाई पनि आइतबार संक्रमण भएको पुष्टि भएको छ। तर, उनलाई लक्षण भने देखिएको थिएन। हिजै भारतका गृहमन्त्री अमित शाहलाई पनि संक्रमण भएको थियो। पछिल्लो हप्ता मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई पनि संक्रमण भएको पत्ता लागेको थियो।