जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ०७:३३

यो हो ओली सरकारको योजनामुखी कामको परिणाम : एकै वर्षमा बन्यो देशभर ३४२ झोलुङ्गे पुल


काठमाडौं, साउन २३ । तुईन बिस्थापितको अभियान चलाएको सरकारले गत आर्थिक वर्षमा ३ सय ४२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सहज भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तुईन बिस्थापित गरी पुल निर्माणमा जोड दिनुभएको थियो । सोही योजनाअनुसार देशभर एकै बर्ष यति धेरै पुल निर्माण भएका हुन । मन्त्रालयले गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको जनाएको छ । वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २ सय ५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र एक हजार ७१६ किलोमिटर सडक नियमित मर्मत सम्भार गरिएको छ ।

त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन । मन्त्रालयले गत आर्थिक वर्षको योजना र कार्यक्रमबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना गरेको जनाएको छ ।

मन्त्रालय अन्तर्गतका निकायका समेत गरी ४० अर्ब ९२ करोड र ८० लाख रुपैयाँको वार्षिक बजेटमध्ये सङ्घीय सरकारको बजेट २९ अर्ब ९० करोड ५१ लाख रुपैयाँ विनियोजन भएको थियो । प्राप्त बजेटमध्ये ५५ प्रतिशत बजेट खर्च भएको थियो । खर्च भएको बजेट मध्येबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना भएको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा सात टोली र सात उपसचिवलाई सम्पर्क व्यक्ति तोकी स्थानीय तहको कार्यसम्पादनमा सहजीकरण गरिएको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।