जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार ०७:४७

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघ्यो : एक करोड २२ लाखभन्दा बढी निको


काठमाडौं,  साउन २७ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड एक हजार १९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ८ सय ९७ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड २२ लाखभन्दा बढी निको भएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ५० लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा एक लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब १६ लाख ७० हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३० लाख ७० हजार संक्रमित भएका छन् भने एक लाख एक हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २४ लाख निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख १५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ३५ हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख पुगेको छ । रुसमा कोरोना संक्रमणबाट १४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । रुसमा करिब ७ लाख संक्रमित निको भएका छन् ।

विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।