जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १३:४३

बिप्लवको बन्दमा जताततै बम आतंक, नागरिक आतंकित पारेर आफ्नो प्रभाव जमाउन मच्चाइयो बितण्डा


काठमाडौं, जेठ १३

आफ्ना कार्यकर्ता मारिएको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज आयोजना गरेको नेपाल बन्दमा बम आतंक मच्चाइउको छ । बिप्लव समुहले गुडदै गरेको बस ट्र्कमा बम प्रहारदेखि नागरिकआवत जातव हुने बाटोमा बम राखेर बितण्डा मच्चाएको हो । विप्लव समूहले विभिन्न ठाउँमा विस्फोट गराउनुका साथै सवारी साधनमा आगजनी गरेका छन्।

बिप्लव समुहले ललितपुरका दुई ठाउँमा बम राखेको शक्तिशाली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। दुवै ठाउँमा शक्तिशाली विस्फोटक डेटोनेटर राखिएको सेनाले जनाएको छ। यस्तै बन्दको नाममा बिप्लव समुहले विदुर नगरपालिका ५ पिपलटार र वेलकोटगढी नपा ५ कोल्पुटारमा बम राखेको छ । सुरक्षाकर्मीले दुबै बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ। पिपल्टारमा प्रेशर कुकर बम र कोल्पुटारमा पेट्रोल बम फेला परेको हो।

यस्तै, पासाङल्हामु मार्गको त्रिशूली(ककनी तथा गल्छी देवीघाट सडकखण्डको बीचमा पनि बम फेला परेको छ। दुवै बम प्रहरीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका(१ र सुन्दरहरैंचा नगरपालिका ७ मा बिहान फेला परेको अज्ञात वस्तु प्रेसर कुकर बम भएको पुष्टि भएको छ। दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। दुवै ठाउँमा बम भेटिएपछि त्रास उत्पन्न भएको थियो। कोसी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाबाट विराटनगर महानगरपालिका प्रवेशद्वारमा भेटिएको बम सेनाको टोलीले बिहान ९ : ३० बजे डिस्पोज गरेको थियो।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका कार्यालय अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। बम फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ। सिन्धुलीको दुधौली नगरपालिका ९८ स्थित खोरभञ्याङमा फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ। निमार्णाधिन मदन भण्डारी राजमार्गको सिन्धुली दुधौलीस्थित पुर्वीखण्डमा खोरभन्ञ्याङमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु सकेट बम जस्तो देखिने नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बारामा पाइप बोकेको ट्रकमा आगजनी

बिप्लव समुहले बाराको सिमरामा आइतबार राति रोकिराखेको भारतीय ट्रकमा आगजनी गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको प्रहरीले बताएको छ। नेपाल भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो। ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ।

इटहरीको बम डिस्पोज

इटहरी २० पानीपियामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। दुईवटा पोकामा सडकको बीचमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। बिहानै गस्तीमा हिँडेका सुरक्षाकर्मीले उक्त बम भेटेका थिए। टाइम सेट गरेर राखिएको टाइमर बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

यस्तै पृथ्वीराजमार्ग अन्तरगत धादिङका २ ठाउँहरुमा बम भेटिएको छ। धादिङको महादेववेशी र नौविसेमा बम भेटिएपछि नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ। थाक्रे गाउँपालिका वडा नं ६ महादेवबेसी पुलमा सकेट बम भेटिएको हो भने धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा प्रेसर कुकर बम भेटिएको छ।

यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार शंकास्पद वस्तु भेटिएको छ। वडा नं ९ बजारबाट करिब २०० मिटरको दुरीमा उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

झापाको दमक स्थित रतुवा पुलमा पनि शंकास्पद वस्तु भेटिएको छ। पुर्वपश्चिम राजमार्गको रतुवा पुलमा प्लाष्टिकले बेरिएको अवस्थामा शंकाष्पद वस्तु भेटिएको हो ।