जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १७:००

१८ औं आमरण अनशन बस्‍ने डा. केसीको तयारी


काठमाडौं, भदौ ११

प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गर्नुभएको छ । उहाँले यसअघि भदौ ११ गतेदेखि सुरु गर्ने भनिएको १८ औं आमरण अनशनको मिति थप एक साता पर सार्नुभएको हो । जुम्ला स्थानीय प्रशासनको विशेष आग्रहमा उहाँले सत्याग्रह एक साता पछाडि सारेको उल्लेख गर्नुभएको छ । उहाँले यसबीचमा आफू बसेको स्थानबाट बाहिर जानका लागि प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोकिएको आरोप लगाउँदै आउनुभएको छ ।

‘विगतमा हाम्रो अभियानमा सहयोग गर्ने साथीहरुलाई प्रहरी घर–घरमा पुगेर धम्क्याउने काम गरेको छ,’ डा केसीले थप्नुभयो, ‘यस्तो कार्य तत्काल नरोकिएमा कुनै पनि बेला सत्याग्रह सुरू गर्ने जानकारी दिन चाहन्छौं ।’ उहाँले प्रदेश–२ र गण्डकी प्रदेश, सुदूरपश्‍चिमको डोटी, डडेल्धुरा, प्रदेश–१ को उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनसमेत माग गर्नुभएको छ ।

उहाँले ०७५/१० साउनको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्‍नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न माग गर्नुभएको छ । उहाँले आइओएमको नियुक्ति वरिष्ठताका आधारमा गर्न र बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेट सुनिश्चित गर्नसमेत माग गर्नुभएको छ । त्यस्तै चिकित्सा शिक्षा ऐन संशोधन, कर्णालीमा तत्काल एमबिबिएस सञ्‍चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्नसमेत माग गर्नुभएको छ ।