जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १४:३४

विप्लवको बन्दले उपत्यकामा आंशिक असर


काठमाडौं, जेठ १३

नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण सोमबार उपत्यकामा आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौंमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झैं सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ। उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

यसअघि आइतबार साँझ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । प्रवक्ता पोखरेलले विभिन्न जिल्लामा नक्कली बम राखेर त्रास फैलाउने काम भएको बताउनुभयो । रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्गमा सवारी साधनलाई ‘स्कटिङ’को व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नभएको काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उपत्यकाका तीनै जिल्लामा बन्दको आंशिक असर परेको उहाँको भनाइ थियो। आइतबार विप्लव समूहका सदस्यले बम बनाउने क्रममा काठमाडौँको घट्टेकुलो, सुकेधारा र थानकोटमा विष्फोट हुँदा सो समूहका ४ जनाको मृत्यु भएको थियो । घटनामा ७ घाइते भएका थिए । घाइतेको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेकामध्ये अधिकांश विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।