जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार ११:३६

कोरोना संक्रमण : शुक्रबार विहान थप ६ जनाको मृत्यु


काठमाडौं, भदौ १२

कोरोना संक्रमणका कारण शुक्रबार विहान थप ६ जनाको मृत्यु भएको छ । धरानमा तीन जना, भक्तपुर, बुटवल र चितवनमा एक\एक जनाको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३ निवासी ८३ वर्षीय पुरुष, मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला र सिरहाका ६५ वर्षीय पुरुष हुनुहुन्छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापा कमल गाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनुभएका दमकका पुरुषमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि बीपीमा ३ गते नै भर्ना गरिएको थियो । मिर्गौलाको दीर्घरोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशिकाको समस्यासमेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, सिरहाका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उहाको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।

यता, भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति ज्यान गएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा ज्यान गइसकेको बताउनुभयो । कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी शुक्रबार र शनिवार दुई दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

उता, बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो । भेन्टिलेटरमा उपचाररत उहालाई गएको सात गते भर्ना गरिएको थियो । श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो ।

यसैगरी, चितवन मेडिकल कलेज, चितवनमा उपचार गराइरहेकी एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । गएको ७ गते अस्पताल भर्ना भएकी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको बिहान ज्यान गएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । लामो समयदेखि​ दमको समस्या भएकी ती महिलालाई निमोनिया भएपछि अस्पतालमा भर्ना गरेको र परीक्षणका क्रममा कोरोना सङक्रमण देखिएको उहाँले बताउनुभयो ।