जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १५:५२

गृहमन्त्री थापाले दोहोर्याएर भने : बिष्फोटको घटना घटाउने र मारिनेहरु जनता होइनन


काठमाडौं, जेठ १३

गृहमन्त्री रामबहादुर थापाले आइतबार विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको भनाई दोहोर्याउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा गृहमन्त्री थापाले सो भनाई दोहोर्याउनु भएको हो ।

‘विस्फोटमा मारिने सामान्य नागरिक होइनन भन्ने नै भनाई हो । ती जनता होइनन । ती घटना घटाउनेहरु हुन, भन्न खोजिएको हो,’ गृहमन्त्री थापाले भन्नुभयो । गृहमन्त्री थापाले राजधानीका दुई ठाउँमा बम बनाउने क्रममा प्राविधिक त्रुटीले विस्फोट हुँदा चार जनाको ज्यान गएको अनुसन्धानबाट देखिएको पनि बताउनु भयो । मारिनेहरु गैह कानुनी र अपराधीक क्रियाकलापसँग सम्बन्धित भएको उहाँको भनाई थियो ।

‘बम बनाउने क्रममा प्राविधिक त्रुटीले विस्फोट हुँदा चार जनाको ज्यान गएको अनुसन्धानबाट देखिएको छ, त्यसकारणले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौं, उनीहरु घटनासंग सम्बन्धित व्यक्ति नै हुन । ती सामान्य नागरिक होइनन । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु,’ गृहमन्त्री थापाले भन्नुभयो । सरकार र विप्लव समुहबीच साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्न जायज नभएको भन्दै गृहमन्त्री थापाले प्रश्नलाई उल्टाएर हेर्दा ती प्रश्नहरुको सम्बन्ध प्रश्नकर्तातर्फ त छैन भन्दै प्रतिप्रश्न गर्नुभयो ।

सांसदहरुको प्रश्न्को जवाफ दिने क्रममा उहाँले समस्याको समाधान शान्तिपूर्ण गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै कानुन मिच्ने, जनतालाई आतंकित पार्नेजस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गर्दै थापाले भन्न्ुभयो, ‘सरकार गठन अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको छ ।’