जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १३:१०

नवजात शिशुलाई ‘भिटामिन–के’ दिइदै


काठमाडौं, भदौ १४

यस आर्थिक बर्ष देखि सरकारले नवजात शिशुका लागि ‘भिटामिन –के’ दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्र्तगतका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले यस आर्थिक बर्षदेखि साढे ६ लाख नवजात शिशुका लागि भिटामिन–के दिइने भएको बताउनुभयो ।

भिटामिन के भर्खरै जन्मेको नवजात शिशुमा सुईद्धारा दिइन्छ ।जन्मेपछि आमाको दुध खाएपछि सुईद्धारा दिइने हो । तर नेपालमा सतप्रतिशत संस्थागत सुत्केरी भई नसकेकोले जन्मेको २८ दिनसम्म दिन सकिने गरी कार्यविधि बनाइएको छ ।‘रगत जमाउने तत्व बनाउन भिटामिन के चाहिन्छ ।

भर्खरै जन्मेका कतिपय शिशुमा भिटामिन के को कमि हुँदा कतिपयमा चोटपटक लागी रक्तश्राव हुँदा नरोकिने समस्या समेत हुने गर्दछ । त्यसैले हामीले जन्मेर आमाको दुध खानासाथ शिशुलाई भिटामिन–के सुई लगाइदिने भनेका हौँ । तत्कालै सम्भव नभएकाले २८ दिन भित्रै लगाउन भनेका छौं’, डा गौतमले भन्नुभयो ।

मातृ तथा नवजात शिशु स्वास्थ्य शाखाले भिटामिन के, म्याग्नेसियम सल्फेट सुई, क्ल्यासियम ग्लुकोनेट र अक्सिटोसिन तथा मातृ सुरक्षा चक्की किन्नको लागि प्रदेश-१ मा ३८ लाख ५४ हजार, प्रदेश-२ मा ४२ लाख ६६ हजार, बागमती प्रदेशमा ५४ लाख ८३ हजार, गण्डकीमा २७ लाख ७३ हजार र सुदूरपश्चिम प्रदेशमा ३८ लाख ३० हजार रुपैयाँ पठाएको छ । प्रदेशले सोही रकमबाट खरीद गरी स्थानीय तहलाई उपलव्ध गराइने बताइएको छ ।