जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १६:१४

सेनालाई कुटपिट गरी हत्या गरेर फरार रहेका साह पक्राउ


शुभ नारायण कामती

सिरहा, जेठ १३

सिरहाको बरियारपट्टी गाउँपालिकामा वैशाख २८ गते राती कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर बस्ने नरेन्द्र सिंह दनुवारको २५ वर्षीय छोरा नेपाली सेनामा कार्यरत जवान अनिस कुमार सिंह दनुवारलाई ०७६ वैशाख २८ गते राति करिब ११ बजेको समयमा अपराधिक मनोवृति भएका व्यक्तिहरुले बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवापट्टीमा निर्ममतापूर्वक कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा जेष्ठ १ गते मृत्यु भएको थियो ।

सोही घटनामा “अपहरण गरी कर्तव्य ज्यान” मुद्दामा आरोपित फरार रहेका बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवापट्टी बस्ने करिब ३८ वर्षीय मङ्गला भन्ने मङ्गल साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन कुमार श्रेष्ठले बताउनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पक्राउ परेका साहलाई आइतबार राति करिब २ः३० बजेको समयमा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रोतका अनुसार पक्राउ परेका साह नेपालबाट नभई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।