जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १२:५४

काठमाडौंका यी क्षेत्रमा छन् बढि संक्रमित


काठमाडौं, भदौ १५

काठमाडौं उपत्यकामा सोमबार बिहानसम्म उपत्यकामा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतवार अपरान्हसम्म काठमाडौंमा ३ हजार ९ सय २०, ललितपुरमा ५ सय ४४ र भक्तपुरमा ४ सय २० जना संक्रमित छन् ।

उपत्यकामा दैनिक भेटिएका संक्रमितहरूमा अधिकांश स्थानीय रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । व्यवसायी, कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घ रोगीलगायतलाई संक्रमण देखिएको छ ।

महाशाखाका अनुसार अहिले उपत्यकामा बढी संक्रमित भेटिएका नक्साल, कोटेश्वर, कलंकी, कालिमाटी क्षेत्र हुन् । एक जना संक्रमितको ‘क्लोज कन्ट्याक्ट’ मा आएकाहरूमध्ये औसतमा चार जनाको परीक्षण गरिएको बताइएको छ । अहिले भेटिएका संक्रमितमध्ये करिव २० प्रतिशतमा लक्षण समेत देखिएको छ । विज्ञहरूको अनुसार लक्षणविहीन संक्रमितले भन्दा लक्षणसहितका संक्रमितले संक्रमण छिटो सार्ने सम्भावना हुन्छ ।