जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १७:२९

स्वास्थ्यकर्मीको निःशुल्क यात्राका लागि स्काउटसहितका संस्थाको साथ (यी रुटमा कुद्नेछन् बस)


काठमाडौं, भदौ १५

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन कुदेका छैनन् । जसका कारण कतिपय स्वास्थ्यकर्मी आफ्नो सेवामा पुग्नका लागि हम्मेहम्मे परिरहेको छ ।

केही अस्पतालले आफ्नै सवारीसाधनको व्यवस्था गरेपनि केही पैदल र आफ्नै सवारी लिएर पुगिरहेका छन् । त्यसैलाई मध्यनजर राख्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ ।

नेपाल स्काउट, नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो ।

सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने बताइएको छ । यात्राका दौरान स्वास्थ्यकर्मीको सहयोगका लागि प्रत्येक बसमा स्काउट स्वयसेवक रहनेछन् ।

यस्तो छ रुट र समय

बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ ।