जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १८:२६

भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता गर्दै हेम-सरिता पाठक फाउन्डेसन, विजेतालाई १ हजार डलर पुरस्कार


काठमाडौं, भदौ १६ । हेम–सरिता पाठक फाउन्डेसनले एक हजार अमेरिकी डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने भएको छ । अमेरिकाको टेक्ससस्थित अष्टिनमा बसोबास गर्दै आउनुभएका समाजसेवीद्वय हेम पाठक र सरिता पाठकले घोषणा गर्नुभएको उक्त प्रतियोगितामा गीतको उत्कृष्ट शब्दलाई पुरस्कृत गरिने छ ।

प्रतियोगिताका लागि आगामी २०७७ मङ्सिर मसान्तसम्म गीत पठाउन सकिने फाउन्डेसनका संयोजक राधेश्याम लेकालीले जानकारी दिनुभएको छ । यसअघि सो फाउण्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा गरिसकेको छ । फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्य बिधामा पनि विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ । यस्तै हेम–सरिता फाउण्डेशनले नेपालमा स्कुल संचालन, विपन्न वर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

यस्तो छ गीत पठाउने नियम

भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन्, १. आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२. गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन ।

४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ ।

९ पुरस्कार : नगद १०००। (युएसडलर) प्रमाणपत्रसहित हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क : Email : [email protected]

Phone No : 9851059354