जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १२:१६

एकै परिवारका आठ जनामा कोरोना संक्रमण देखिएपछि सिंगै गाउँ आतंकित


राजविराज, भदौ १८ । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका आठ जनामा कोरोना संक्रमण देखिएको छ । परिवारका आठै जनामा संक्रमणपछि कञ्चनरुप–६ स्थित घोघनपुर सिल गरिएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल अर्को आदेश नहुञ्जेलसम्मका लागि सिल गरिएको हो ।

साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी ुसिलु गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको छ । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी सिल गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका १०, १२, १३, ३६ र ६२ वर्षीय पुरुष तथा ३० र ६२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । राजविराजबाट फर्किएर गएका ३६ वर्षीय व्यापारीलाई ज्वरो र रुघाखोकी लागेर शंका गरी परीक्षण गर्दा ५ दिन अघि कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परेका परिवारका ७ जनासहित छिमेकीहरु समेत १६ जनाको शनिबार स्वाब संकलन गरिएको थियो ।

पीसीआर परीक्षण गरिएकामध्ये संक्रमितको परिवारका आमा, श्रीमती, छोराछोरी र परिवारका नातेदार गरी ७ जनामा संक्रमण देखिएको हो । यसअघि नै कोरोना पुष्टि भएका व्यापारी होम आइसोलेशनमा बसिरहकाले थप संक्रमित उनका परिवारका ७ जनालाई पनि होम आइसोलेसनमै राखिएको छ ।

कञ्चनरुप नगरपालिका– २ का तीन जना पुरुषमा समेत बुधबार कोरोना संक्रमण भेटिएको मध्ये २१ र २५ वर्षीय पुरुष पनि एकै परिवारका हुन् । सप्तरीमा हालसम्म संक्रमितको संख्या १ सय २७ महिला र ६ सय ९६ पुरुष गरी ८ सय २३ पुगेको छ । तीमध्ये ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना कोरोना जितेर घर फर्किएका छन ।