जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ०७:१४

भ्रममा नपरी नियमित काममा सक्रिय हुन गृहको अनुरोध


 

काठमाडौँ, १४ जेठ । गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ । सोमवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गर्नुभएको छ ।

निर्दोष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलगायतका घटना अमानवीय भन्दै मन्त्रालयले त्यसको भत्र्सनासमेत गरेको छ । कानून र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

अहिलेसम्म विस्फोटको योजनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको र नेपाल बन्दका नाममा केही शङ्कास्पद घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका थिए । उनीहरु सोही समूहका कार्यकर्ताहरु नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि मन्त्रालयले जनाएको छ । विभिन्न स्थानमा विप्लव समूहले राखेको विस्फोटनको तयारीलाई सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ ।