सुर्खेत, भदौ १८
बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. गोविन्द केसीले अन्ततः सत्याग्रह स्थगित गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले केही समयका लागि सत्याग्रह स्थगन गरेको जनाउनुभएको छ । ‘कोरोनाको महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ’ विज्ञप्तिमा उहाँले भन्नुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्नेलगायतका विभिन्न माग राखेर डा. केसीले बिहीबारदेखि अनशन बस्ने घोषणा गर्नुभएको थियो ।
‘सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुरु गर्ने जानकारी गराउँछौं’ उहाँले भन्नुभएको छ । डा. केसीले महामारीका बेलामा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिन सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्