जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १०:३०

देउवाको विषयलाई लिएर सार्वजनिक मञ्चमै भिडे कांग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा


काठमाडौं 

नेपाली कांग्रेसका दुई युवा नेताबीच पार्टी नेतृत्वको विषयलाई लिएर सार्वजनिक कार्यक्रममै बहसमा उत्रिएका छन् । उनिहरुले नेतृत्वको कार्यशैलीलाई लिएर एक आपसमा घोचपेच गरेका हुन् । नेपाल प्रेस युनियनको २८ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा दुई नेताविच अहिलेको नेतृत्वले कम्युनिष्ट सरकारविरुद्ध लड्न सक्छ वा सक्दैन भनेर बहस गरेका हुन् ।

केन्द्रीय सदस्य गगन थापाले अहिलेकै नेतृत्वबाट पार्टीमा जागरण नआउने बताएपछि प्रवक्ता विश्वप्रकाश शर्माले अहिल्यै नेतृत्व परिवर्तनको बेला नभएको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गर्नुभएको छ ।

नेता थापाले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको कम्युनिस्ट सरकारसँग लड्न अहिलेकै नेतृत्वले नसक्ने जिकिर गर्नुभयो । सरकारसँग लड्ने तागत अहिले देउवासँग नभएको उहाको भनाई थियो । ‘हामी देशैभर जागरण अभियानमा छौं । देश संघीयतामा गइसक्दा पनि पार्टीले जिल्ला चिन्छ, पूर्व गाविस अध्यक्ष चिन्छ। प्रदेश चिन्दैन, गाउँपालिका चिन्दैन। अनि कसरी हुन्छ जागरण ?’ संगठन निर्माणका लागि अधिवेशनको खाँचो हुने नेता थापाको भनाई थियो ।

‘शीर्ष नेतालाई सम्मान छ। तपाईं सम्मानित हुनुहुन्छ तर तपाईं अब थाक्नुभयो, विश्राम गर्नुहोस् भनेर भन्ने कि नभन्ने ?’ उहाले भन्नुभयो, ‘विचारमा क्रान्ति गर्नुपर्ने बेला आएको छ। संगठन चुस्त दुरुस्त पनि राख्नुपर्नेछ।’

गगन थापाको भनाई सुनेपछि बोल्ने पालो पाउनु भएका कांग्रेस प्रवक्ता समेत रहनु भएका शर्माले पार्टीलाई नवीन ढंगले रूपान्तरण गर्न जागरण अभियानले सघाउने दाबी गर्नुभयो ।

‘जेठ १४ गते रूपान्तरण थालेर १५ गते नै कांग्रेस रूपान्तरण हुन्छ भन्ने कारुण कल्पनामा म जान चाहन्न। यो क्रमशः हुने विषय हो।’ उहाले नेता थापालाई एक उदाहरण पनि दिँदै यसरी सम्झाउनु भयो, ‘कोही बिरामी भयो भने अपरेसन थिएटरभित्र लैजानुअघि औषधि खुवाइन्छ, त्यो औषधि अहिले देशैभर चलिराखेको जागरण हो।’ जागरण अभियान गाउँदेखि केन्द्रसम्म संवादका लागि भएको उहाको भनाइ थियो। ‘गाउँगाउँ जाँदा कांग्रेसले संवाद गर्नुपर्छ। केन्द्रदेखि गाउँ तहसम्मै नेताहरू रूपान्तरण हुन जरुरी छ,’ शर्माको भनाई थियो ।