काठमाडौं, भदौ २२
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आफू अन्तरगर्त रहेको तीनवटा सूचना प्रणालीलाई एकीकृत गर्ने मन्त्रि परिषद्को दुई बर्ष अघिको निर्णयलाई कार्यान्वयन गरेको छ । महाशाखाले यसै साताबाट हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस), लजिष्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एलएमआईएस) र हेल्थ इन्फास्टक्चर इन्फरमेसन सिस्टम (एचआईआईएस) लाई एकीकृत गर्ने सम्वन्धी निर्णय कार्यान्वयन गरेको हो ।
अब यी तीनवटै सूचना प्रणाली एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएचएमआईएस) शाखा अन्तरगर्त रहनेछन् । एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले व्यवस्थापन महाशाखा अन्तरगर्त रहेका तीनवटा छुट्टा छुट्टै सूचना प्रणालीलाई अब एकीकृत ढंगबाट व्यवस्थित गर्न शुरु गरिएको बताउनुभयो ।
‘देश संघीय संरचनामा जाँदा स्वास्थ्यका पनि धेरै संरचना परिवर्तन भएका छन्, त्यसबेला देखि नै व्यवस्थापन महशाशाखा अन्तगगर्त रहेका तीनवटा सूचना प्रणालीहरु एचएमआईएस, एलएमआईएस र एचआईआईएसलाई आईएचएमआईएस अन्तरगर्त रहने गरी एकीकृत ढंगबाट व्यवस्थित गर्ने निर्णय भएको थियो । त्यसबेलाकै निर्णय अहिले कार्यान्वयनमा ल्याएका हौँ,’ शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।
उहाँले तीनवटै सूचना प्रणालीलाई एकीकृत ढंगले व्यवस्थित गर्न दुई महिना अघि नै सम्झौँता भएको समेत उल्लेख गर्नुभयो । आईएचएमआईएस यसअघि नै अस्थित्वमा आएको भएपनि यसमा एचएमआईएस सूचना प्रणालीबाट आउने स्वास्थ्य सम्वन्धी विवरण मात्रै आउने गरेको थियो ।
‘अब भने औषधिजन्य बस्तुहरुको विवरण राख्ने एलएमआईएस, स्वास्थ्य संस्था निर्माण सम्वन्धी विवरण राख्ने एचआईआईएसले समेत सूचना विवरण हामीलाई पठाउने भयो यसले यसले स्वास्थ्यको सहज रुपमा बृहत सूचनापाउने बातावरणको विकास गर्दछ,’ जनस्वास्थ्य अधिकृत नरेशकुमार यादवले भन्नुभयो ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलले स्वास्थ्यका सूचनालाई एकद्धार प्रणालीबाट व्यवस्थित गर्न बनाइएको इन्टिग्रेटेड हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम लाई कार्यान्वयनमा ल्याइएको प्रतिक्रिया दिनुभयो । उहाँले खोप, औषधि, भवन निर्माण, खरीद सम्वन्धी सम्पूर्ण सूचना आईएचएमआईएसमा हुने र सहज ढंगले प्राप्त गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्