जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १३:२५

स्वाब संकलन गर्न आएका स्वास्थ्यकर्मीमाथि फिल्डमै हातपात


बैतडी, भदौ २३ । स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि बैतडीको सिगास गाउँपालिकामा हातपात भएको छ । सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो ।

भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको देखेपछि आफूले सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिनुभयो । ‘विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस भनेर सम्झाउँदा ममाथि हातपात भयो,’ बोहोराले भन्नुभयो ।

सिगास गाउँपालिका वडा नं ५ मा मंगलबार स्वाब संकलन गर्ने हिसाबले हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको छ । ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौं, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ,’ ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले भन्नुभयो । स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ ।

स्थानीयले आफूमाथि हातपात गरेपछि बोहोराले आज बिहान गाँजरी प्रहरीचौकीमा निवेदन दिनुभएको छ । बैतडीमा जिल्लाका प्रत्येक स्थानीय तहमा समुदायमा कोरोना परीक्षण गनै संक्रमिततका आफन्तहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ । बैतडीमा अहिलेसम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ भने ३ सय ६२ जना डिस्चार्ज भइसकेका छन ।