जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ११:२९

लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि ४० हजार घुस लिने अपरेटर पक्राउ


पोखरा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि घुस लिदै गरेका दुई जनालाई पक्राउ गरेको छ । हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई सोमबार पक्राउ गरेको हो ।

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले दुवै जनालाई रकमसहित रेष्टुरेन्टबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । घुस बापतको ४० हजार रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाइड स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।