जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १३:४९

करारका एक चिकित्सकका भरमा जिल्ला अस्पताल


मनाङ, भदौ २४

हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को सङ्क्रमणले अझ समस्या थपिएको छ । सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ ।

कोरोना सङ्क्रमणको सङ्ख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारी मात्रै हुनुहुन्छ । मनाङमा भएका दक्ष जनशक्तिका रूपमा एक चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो ।

मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिनुभयो । ‘कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सोअनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक छन्, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ,’, प्रजिअ गिरीले भन्नुभयो,‘जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।’

अहिले एक मात्र डा. अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त हुनुहुन्छ। दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले जिल्लाको अस्पतालबाट सेवा करारका एक चिकित्सकले मात्रै दिँदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा कार्यरत चार कर्मचारी करारका छन् । जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका चिकित्सकले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्यका प्राय धेरैजसो कर्मचारी करारका छन् । उहाँका अनुसार हाल जिल्ला अस्पतालमा डा. अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का छन्।