जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार ११:४६

गर्भवती र सुत्केरीको निःशुल्क कोभिड–१९ बीमा


काभ्रे, भदौ २५

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’ अन्तर्गत उक्त अभियान शुरु गरेको हो ।

नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरुआत गर्नुभएको हो । ‘बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ’, उहाँले भन्नुभयो । उहाँले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गर्नुभयो ।

सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् । उहाँले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिने जानकारी दिनुभयो । ‘उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो,’ उहाँले भन्नुभयो ।

नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ । संक्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।’ उहाँका अनुसार हाल नगरमा सक्रिय संक्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको जनाएको छ ।