काठमाडौं, भदौ २५
अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै अनलाइन कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयले शुल्क लिन पाउने भएको हो।
‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ मन्त्रालयद्वारा जारी निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा भनिएको छ। यसअघि मन्त्रालयले निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपनि नतिर्न भन्दै आएको थियो। मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।
सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । यता अभिभावकहरूले भने कोरोना महामारीका बेला संक्रमणकालीन शुल्क निर्धारण हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी अनलाइन कक्षा अनुसारको संक्रमणकालीन शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ । अभिभावकहरू निशुल्क पढ्न पाउनुपर्छ भन्ने पक्षमा नभएको भन्दै उहाँले मासिक शुल्कको करिब आधा मात्रै दिने पक्षमा रहेको बताउनुभयो । त्यस्तै उहाँले कानुन अनुसार कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्