चितवन, भदौ २८
जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो । दीर्घ रोगी उहाँको गत ११ भदौमा नमूना सङ्कलन गरिएको थियो ।
भदौ १५ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्नुभएको थियो । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्