जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ११:४२

मोरङ, महोत्तरी र रुपन्देहीमा थप ३ कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भदौ २९

मोरङ, महोत्तरी र रुपन्देहीमा गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१२ का ७० वर्षीय पुरुष हुन् । आइतबार दिउँसो धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उहाँको मृत्यु भएको थियो । उहाँलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उहाँलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ ।

योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । त्यसैगरी महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको र उहाँको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताउनुभयो ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उहाँको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उहाँ उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उहाँको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो। त्यसैगरी रुपन्देही कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । यहीभदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आउनुभएको महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो । उहाँको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसियुमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।