जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १७:५४

शैक्षिक सत्र परिवर्तन हुँदैन, चैतमै सकिन्छ : महानिर्देशक दाहाल


काठमाडौं, भदौ ३०

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिन्छ ।’ नेपालका पाँच वटा हिमाली जिल्लामा फागुन १ गतेबाट र बाँकी सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ ।

विद्यालय तहमा अध्ययन ९० लाख मध्ये अधिकांश विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा छैनन् । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा केही विद्यालयहरूले असार १ गतेदेखि दुरशिक्षा सञ्चालन गर्दै आएका छन् । गत चैत पहिलो सातादेखि विद्यार्थीहरूले विद्यालयमा भने टेक्न पाएका छैनन् ।