जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १५:३३

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा


काठमाडौं, भदौ ३१

योशिहिदे सुगालाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उहाँलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उहाँको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो । आगामी वर्ष हुने संसदीय निर्वाचनसम्म सुगा जापानको प्रधानमन्त्रीको रुपमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । सुगा एक स्ट्रबेरी किसानका छोरा हुन् ।