जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १२:५६

स्वास्थ्यकर्मीको सम्मानमा आज देशभर दिपावली


काठमाडौं, असोज १

विश्व बिरामी सुरक्षा दिवसको अवसरमा यस वर्ष स्वास्थ्यकर्मीको सम्मानमा आज देशभर दिपावली गरिँदै छ । स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको दिवस ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ नेपालमा स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरि दिवस मनाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि यो दिवस मनाइने भन्दै आज बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही समयमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुका साथै कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको उहाँले बताउनुभयो । उहाँले कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि बेलुकी ८ बजे आ–आफ्नो घरमा दिपावली गर्न पनि सबैलाई अपिल गर्नुभएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने पोखरेलको भनाई छ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै आएको छ ।