जनता टाइम्स

४ आश्विन २०७७, आईतवार ०६:५८

कोरोना अपडेट : विश्वभर ९ लाख ६० हजार बढीको मृत्यु, २ करोड २५ लाख ७० हजार निको


काठमाडौं,  असोज ४ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ कोभिड –१९० बाट ३ करोड ९ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै आइतवार विहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको हो । यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।

एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ । ४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९७ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख १ हजार ९८२ पुगेको छ । त्यसमध्ये ५१ लाख ६० हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७५ हजार ३८८ जनाको मृत्यु भएको छ । ९३ लाख ४८ हजार ५२९ जना संक्रमित भएकोमा ७६ लाख २९ हजार १० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ७३ जनाको मृत्यु भएको छ । ७४ लाख ८८ हजार ६७६ जना संक्रमित भएकोमा ६२ लाख २५ हजार १३४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३३ हजार ८७९ जनाको ज्यान गएको छ भने १४ लाख ५ हजार ९७३ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५३ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८७९ जनाको मृत्यु भएको छ । ३० हजार ४७९ जना संक्रमित भएकोमा २६ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् ।