जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १५:४५

डा. गोविन्द केसी आइसियुमा, उपचार गर्न अटेर


काठमाडौं, असोज ४

जुम्लामा एक सातादेखि निरन्तर अनसनमा रहनुभएका डा. गोविन्द केसीलाई आइसियुमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या भएपछि शनिबार राती नै कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । अस्पताल पुर्याइएपछि डा. केसीले स्वास्थ्य जाँच्न नदिएको बताइएको छ । उहाँले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा लगायत कुनैपनि स्वास्थ्य जाँच गर्न नसकिएको प्रतिष्ठानले जनाएको छ ।

रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट तथा एसिड बेस ब्यालेन्समा गडबढी भई प्रमुख अंगहरुमा समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमहुँदा संक्रमणको खतरा रहेको केसीको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

अहिले देशमा कोरोना भाइरस संक्रमण बढीरहेको भन्दै केही समूहले यस्तोबेलामा कोरोना संक्रमणबाट कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताउँदै आएको छ । समूहले अहिले डा. केसी अनसन बस्नु उपयुक्त नरहेको बताउँदै आएका छन् । त्यस्तै अर्को समूह भने डा. केसीको माग पुरा हुनुपर्छ भन्ने अडानमा रहेको पाइन्छ ।