काठमाडौं, असोज ६
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा–४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर–८ की ७२ वर्षीया वृद्धा छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र ७२ वर्षीया वृद्धाको आइतबार राति ९ः२० बजे मृत्यु भएको हो । ४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना हुनुभएको थियो । उहाँले नियमित डायलासिस समेत गराउँदै आइरहनुभएको थियो ।
झापा मेचीनगरको ७२ वर्षीया वृद्धा श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि झापास्थित कन्काई अस्पतालले धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्