जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १४:३९

डा. गोबिन्द केसीलाई टिचिङ जानै प्रतिबन्ध, पक्राउ गरी पुर्याइयो ट्रमा सेन्टर


काठमाडौं, असोज ६ । त्रिबि शिक्षण अस्पतालका अवकाशप्राप्त प्राडा गोविन्द केसीलाई टिचिङ अस्पताल महाराजगञ्ज जानबाट प्रशासनले रोक लगाएको छ । विभिन्न माग राख्दै जुम्लाबाट आफ्नो १९औं सत्याग्रह थाल्नुभएका प्राडा केसीलाई आफूले लामो समय काम गरेको टिचिङ अस्पताल जान प्रहरी प्रशासनले रोक लगाएको हो ।

डा. केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै अब काठमाडौं सत्याग्रह जारी राख्ने बताउनु भएको थियो । केसी आज बिहान काठमाडौं आउनुभएलगत्तै प्रहरीले जवर्जस्ती ट्रमा सेन्टर पुर्याएको छ । कोरोनाका कारण वीर अस्पतालको सम्पूर्ण सेवा अहिले ट्रमा सेन्टरबाट चलिरहेको छ । वीरलाई सरकारले कोभिड अस्पतालमा परिणत गरेसँगै ट्रमामा सेवा सरेको हो ।

डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको सिंहचौरबाट सत्याग्रह सुरु गर्नुभएको थियो । काठमाडौं आएर आफूले सेवा गरेकै अस्पतालमा अनसन बस्न जान लाग्नुभएका डा. केसीलाई प्रहरीले जवर्जस्ती उपचार गर्नका लागि ट्रमा सेन्टर पुर्याएको हो । गृहमन्त्री रामबहादुर थापाको आदेशमा काठमाडौं प्रशासन र प्रहरीले केसीलाई टिचिङ जान रोकेको बताइएको छ । डा. केसीले प्रहरीको यस कामको कडा बिरोध गर्नुभएको छ ।