काठमाडौं, असोज ९
दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उहालाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालसुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उहाले नै गाउनु भएको थियो ।
सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाउनु भएको थियो । हिन्दी सिनेमामा भने उहाले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाउनु भएको थियो, ‘तेरे मेरे बीच में कैसा है ये बन्धन अन्जाना’ । जुन चलचित्रले अभिनेता कमल हसनलाई नेसनल अवार्ड जिताएको थियो । ‘सागर’ चलचित्रको ‘सच मेरे यार है’ तथा ‘ओ मारिया’, ‘मैने प्यार किया’ को ‘दिल दिवाना’, ‘रोजा’ को रोजा जानेमन’ लगायतका सदाबहार गीत बालासुब्रमण्यमका लोकप्रिय गीत हुन् ।













प्रतिक्रिया दिनुहोस्