जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १३:२७

बाँकेमा ५० संक्रमितले एकैदिन जिते संक्रमण


नेपालगञ्ज, असोज १०

बाँकेमा कोरोनाबाट संक्रमित भएकामध्ये ५० जना संक्रमणमुक्त भएका छन् । शनिवार विहान विभिन्न आइसोलेसनबाट ५० संक्रमित घर फर्किनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका विभिन्न आइसोलेसनबाट निको भएर घर फर्किनेहरुमा भूमीसुधार तथा मालपोत कार्यालय बाँकेका लेखा अधिकृत सहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत सहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।

भदौ २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसन केन्द्रहरुमा राखेर सामान्य खाले उपचार गरिएको थियो । कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले आइसोलेसनमा रहँदा उनिहरुलाई कोरोनाको कुनै गम्भीर लक्षण नदेखिएकोले सरकारको मापदण्ड अनुसार समय पुरा भएकोले उनिहरुलाई घर पठाईएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले संक्रमित हुने भन्दा निको हुनेहरुको संख्या बढ्दै गएकाले छिटै संक्रमितहरु झनै घट्ने जनाएको छ ।