जनता टाइम्स

१० आश्विन २०७७, शनिबार २१:०६

सरकार कुरामा होइन काममा केन्द्रीत छ : स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं, असोज १०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताउनुभएको छ । सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गर्नुभयो ।

उहाँले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिनुभयो । क्यान्सरबाट मृत्युहुनेमध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै उहाँले क्यान्सरबाट मृत्यु हुनुको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिक गर्नुभएको थियो । आजैदेखि भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ । मन्त्री ढकालले भर्चुल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको मोवाइल एप्स क्लिक गरेर सोको शुभारम्भ गर्नुभयो । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।