जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १२:२५

नरदेवीको प्रशंसनीय काम : रोग प्रतिरोधी क्षमता बढाउन निःशुल्क चुर्ण वितरण


काठमाडौं, असोज ११

नरदेवीस्थित आयुर्वेद चिकित्सालय (अस्पताल) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणमा कमी नआएको भन्दै रोग प्रतिरोधी क्षमता बढाउन निःशुल्क चुर्ण वितरण गर्दै आएको छ । उपत्यकाका केन्द्रीय अस्पतालहरु संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिरहेका छन् । तर नरदेवीले भने संक्रमण नै नहोस वा भईहाले पनि छिटो निको होस् भन्ने अभियानमा जुटेको जनाएको छ ।

एक महिनाअघि देखि आम सर्वसाधारणका लागि निःशुल्क चुर्ण वितरण गर्दै आएको हो । हाल औषधालयमा आएर दैनिक तीन देखि चार सय जनाले निःशुल्क रुपमा चुर्ण लिएर जाने गर्दछन् । चिकित्सालयका निर्देशक डा. प्रदीप केसीका अनुसार गत ११ भदौदेखि आमसर्वसाधारणका लागि निःशुल्क रुपमा जेष्ठवासादि, गुडूची र यष्ठिमधु मिसाइ तयार पारि चुर्ण वितरण गरिएको हो । चुर्णमा १२ वटा आयुर्वेदिक जडिवुटिहरुको प्रयोग भएको छ ।

आफूहरुले उक्त चुर्ण कोरोनाविरुद्ध नै हो भनेर नतोकेको तर भाइरसजन्य संक्रमणविरुद्ध लड्न र रोकथामको लागि नियमित सेवन प्रयोग गर्न सकिने छ । संक्रमण घटाउने र रोग प्रतिरोधी क्षमता बढाउँने भएकाले यसको प्रयोग फाइदाजनक हुने देखेर वितरण गरेको डा. केसीले बताउनुभयो । पछिल्लो समय अस्पतालमा आउने आम सर्वसाधारण बाहेक, प्रहरी, सेना, क्लव, टोल सुधार समिति जस्ता समुह र समुदायस्तरमा वितरण गर्न समेत यि जडिबुटि समिश्रणयुक्त चुर्णको माग हुन थालेको छ ।