जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १४:०९

बाबरी मस्जिद प्रकरण : आडवाणीसहित सबै ३२ आरोपिले पाए सफाइ


काठमाडौं, असोज १४

२८ वर्षअघि बाबरी मस्जिद भत्काउने काममा संलग्न रहेको आरोप लागेका ३२ जनालाई भारतको विशेष अदालतले सफाइ दिएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाडी लगायत ३२ जनालाई सफाई दिएको हो ।

फैसला पढ्दै न्यायाधीश सुरेन्द्र कुमार यादवले बाबरी मस्जिद भत्काउने पूर्वयोजना नरहेको र नेताहरू त्यसमा प्रत्यक्ष संलग्न रहेको प्रमाण फेला नपरेको उल्लेख गर्नुभएको छ । फैसला सुनाएसँगै न्यायाधीश यादव रिटायर हुनु भएको छ ।
न्यायाधीशले फैसलामा चार वटा विषयलाई जोड दिदै आरोपीलाई सफाई दिइएको छ । यस मुद्दामा कुनै ठोस प्रमाण नरहेको, यो विध्वस नियोजित नरहेको, ढाँचा उच्चछृखल तत्वले भत्काएका हुन् आरोपीले होइन् र प्रमाणका रुपमा प्रस्तुत गरिएको भिडियोमा छेडखानी गरिएको फैसलामा भनिएको छ ।

यससँगै भाजपाका वरिष्ठ नेताहरू आडवाणी, मुरली मनोहर जोशी, उमा भारती, साध्वी ऋतम्भरा लगायतलाई राहत मिलेको छ । कुल ४९ आरोपित रहेकोमा १७ जनाको सुनुवाइकै क्रममा मृत्यु भयो । सन् १९९२ डिसेम्बर ६ तारिखमा कारसेवकहरूले बाबरी मस्जिद भत्काएपछि भड्किएको साम्प्रदायिक हिंसामा परी दुई हजार जनाको ज्यान गएको थियो ।